मालपोत कार्यालय परिसरमा लेखापढी व्यवसायीको कार्यालय सञ्चालनमा रोक
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र २ गते । भूमि सुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजले आफ्नो परिसरभित्र सञ्चालित लेखापढी व्यवसायी तथा संघसंस्थाका कार्यालयहरू बन्द गर्न आग्रह गरेको छ। आइतबार जारी सूचनामार्फत कार्यालय प्रमुख किशोर कुमार रामले कार्यालय हाताभित्र रहेका यस्ता सबै कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएका हुन्।
सूचनामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त पत्र तथा निर्देशनअनुसार यो कदम चालिएको उल्लेख छ। कार्यालय हातामा लेखापढी व्यवसाय सञ्चालन हुँदा अनधिकृत व्यक्तिहरूले मोठ/श्रेष्ठा फाँटमा प्रवेश गरी मोठ, श्रेष्ठा तथा विवरण हेर्ने गरेको भन्दै यस्ता कार्यालयहरू अविलम्ब बन्द गर्नुपर्ने बताइएको छ। बन्द भएका स्थानमा मोठ/श्रेष्ठा व्यवस्थापन गरिने पनि सूचनामा उल्लेख छ। मालपोत कार्यालयले यसलाई मन्त्रालयको परिपत्रबमोजिम अनधिकृत प्रवेश रोक्ने प्रयासको रूपमा व्याख्या गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments