सिरहामा पोखरीमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो : २२ वर्षीया खुश्बु यादवको शव, पोस्टमार्टमका लागि धरान पठाइयो

14 घन्टा पहिले प्रकाशित

जनकपु्रधाम, फाल्गुन २९ गते ।  सिरहाको औरही गाउँपालिका–५ स्थित नेपाल–भारत सीमानजिकैको पोखरीमा बुधबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृतक महिला औरही–५ निवासी करिब २२ वर्षीया खुश्बु यादव रहेको पुष्टि भएको छ।

प्रहरीका अनुसार मृतककी सासू चन्द्रकला यादवले पोखरीमा भेटिएको शव आफ्नी बुहारी खुश्बु यादवको रहेको सनाखत गरेकी हुन्। मृतकका श्रीमान् सरोजकुमार यादव हाल वैदेशिक रोजगारीमा रहेका छन्। खुश्बु मंगलबार दिउँसो ‘घाँस काट्न जान्छु’ भन्दै बोरा र हँसिया लिएर घरबाट निस्किएकी थिइन्। तर केही समयपछि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। बुधबार बिहान पोखरीमा घोप्टो परेर तैरिरहेको अवस्थामा उनको शव फेला परेको थियो।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम रिपोर्ट नआएसम्म घटनाको कारणबारे केही भन्न नसकिने प्रहरीले जनाएको छ। पोखरीको उत्तरतर्फको डिलमा मृतकले बोकेको बोरा, हँसिया र चप्पल समेत भेटिएको प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।

मृतकका श्रीमान् विदेशमा रहेकाले खुश्बु प्रायः माइतीमै बस्दै आएकी थिइन्। माइती पक्षका अनुसार उनी करिब १५ दिनअघि मात्र ससुरालाई लिन आएपछि फर्किएकी थिइन्। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको कारण आत्महत्या, हत्या वा अन्य कुनै हो भन्ने पुष्टि हुन बाँकी छ। परिवार तथा स्थानीयले घटनालाई गम्भीर रूपमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?