रौतहटमा वन क्षेत्रको अवैध अतिक्रमण हटाइयो : ६ वटा घरटहरा भत्काइए
14 घन्टा पहिले प्रकाशित
जनकपु्रधाम, फाल्गुन २९ गते । रौतहटको चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका ६ वटा घर तथा छाप्रा भत्काइएका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय तथा रङपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले बिहीबार अपराह्न यी संरचना हटाएर वन क्षेत्र खाली गराएको छ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा वन कर्मचारीहरू निर्वाचन कार्यमा खटिएका बेला केही स्थानीयले रातारात वन क्षेत्रमा घर तथा छाप्रा निर्माण गरी अतिक्रमण गरेका थिए। निर्वाचनपछि वन संरक्षणका लागि तत्काल कारबाही अघि बढाइएको हो।
प्रमुख साहले भने, “कुनै पनि बहानामा वन अतिक्रमणलाई छुट दिइने छैन।” उनले वन क्षेत्रको संरक्षणका लागि अवैध रूपमा घर निर्माण नगर्न तथा वन अतिक्रमण नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। वन क्षेत्रमा यस्ता संरचना निर्माण गर्ने क्रम बढ्दै गएपछि संयुक्त टोलीले नियमित अनुगमन तथा कारबाहीलाई तीव्र बनाउने बताएको छ।
यो कारबाहीले स्थानीय स्तरमा वन संरक्षणप्रति सचेतना बढाउने अपेक्षा गरिएको छ। वन अतिक्रमणका घटनामा प्रहरी तथा वन कार्यालयको संयुक्त प्रयासले प्रभावकारी रूपमा काम गरिरहेको देखिएको छ। थप अतिक्रमण रोक्न नियमित गस्ती तथा निगरानी बढाइने डिभिजन वन कार्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments