रौतहटमा निःशुल्क निवेदन लेख्ने प्रहरी सेवा बन्द

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन २८ गते ।  जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गरिब तथा विपन्न नागरिकका लागि निःशुल्क रूपमा निवेदन (उजुरी) लेखिदिने व्यवस्था बन्द गरेका छन्।

तत्कालीन प्रहरी प्रमुख दिलिप घिमिरेको निर्देशनमा गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै ठाडो निवेदन निःशुल्क लेखिदिने व्यवस्था सुरु गरिएको थियो। सो निर्णयपछि जिल्लाका सबै प्रहरी कार्यालयमा पीडितलाई निःशुल्क रूपमा निवेदन लेखिदिने तथा आवश्यक फर्म उपलब्ध गराउने व्यवस्था गरिएको थियो।

गत वर्ष माघ १२ गते उक्त सेवा सुरु भएपछि एक महिनामै ४२६ जना लाभान्वित भएका थिए। प्रहरीको तथ्याङ्कअनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ९१, इलाका प्रहरी कार्यालय गरुडामा ५५, जिल्ला प्रहरी कार्यालय रौतहटमा २९ तथा इलाका प्रहरी कार्यालय मौलापुरमा २० जनाले निःशुल्क सेवा लिएका थिए।

कुल २३४ जनाको निवेदन प्रहरीले नै लेखिदिएको थियो भने १९२ जनाले प्रहरीले उपलब्ध गराएको ढाँचामा स्वयं निवेदन भरेका थिए। यसअघि सामान्य निवेदन लेखिदिएबापत ३०० देखि ७०० रुपैयाँसम्म लेखनदासलाई बुझाउनुपर्ने अवस्था थियो।

प्रहरीले निःशुल्क रूपमा निवेदन लेख्न थालेपछि प्रहरी चौकी आसपास सञ्चालनमा रहेका दर्जनौँ लेखनदास पसलसमेत बन्द भएका थिए र यस पहलको जिल्लावासीले व्यापक प्रशंसा गरेका थिए। तर एसपी घिमिरेको सरुवा भएपछि केही समयसम्म जारी रहेको उक्त व्यवस्था पछिल्ला महिनादेखि बन्द भएको छ।

यससँगै अहिले पुनः पीडित नागरिकले सामान्य निवेदन लेखाउनसमेत पैसा खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले गुनासो गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?