सिरहामा अधिवक्ताको ल फर्ममा बम विस्फोट : नेपाल बार एसोसिएसनको घोर भर्त्सना

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, फाल्गुन २८ गते । नेपाल बार एसोसिएसनले सिरहा जिल्ला अदालत बार एसोसिएसन अगाडि अधिवक्ता मधुसुदन यादवको कानुनी फर्ममा भएको बम विस्फोटको घटनाप्रति घोर भर्त्सना गरेको छ। आज दिउँसो ४ बजे भएको विस्फोटबाट ल फर्मको सिसा फुटेको, भित्र रहेका काम गर्ने सामग्री तथा फर्निचरमा समेत क्षति पुगेको छ।

नेपाल बार एसोसिएसनका महासचिव केदारप्रसाद कोइरालाले रासससँग कुरा गर्दै भने, “बार यो घटनाप्रति घोर भर्त्सना गर्दछ। घटनाको गहन छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र ल फर्ममा भएको भौतिक तथा अन्य क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग जोडदार माग गर्दछौं।” उनले कानुन व्यवसायीमाथि यस्तो हमला हुने क्रम बढ्दै गएकाले यसलाई गम्भीर सुरक्षा चुनौतीको रूपमा लिनुपर्ने बताए।

घटनाको पूर्ण विवरण अझै प्राप्त भएको छैन। विस्फोट कसले र कुन कारणले गराएको हो भन्ने बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ तर हालसम्म कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन। सिरहा प्रहरीले घटनास्थलमा पुगेर प्रमाण सङ्कलन गरेको र विस्फोटक पदार्थको प्रकृति तथा प्रयोग भएको विधिबारे थप जाँच भइरहेको जनाएको छ।

कानुन व्यवसायीहरूले यो घटनालाई स्वतन्त्र न्याय प्रक्रिया र अधिवक्ताहरूको सुरक्षा माथिको आक्रमणको रूपमा लिएका छन्। नेपाल बार एसोसिएसनले यस्ता घटनाले कानुनी राज्यको आधारलाई कमजोर बनाउने भन्दै तत्काल प्रभावकारी सुरक्षा व्यवस्था र दोषी पक्राउको माग गरेको छ। घटनाको थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?