जमिनमा गाडिएको अवस्थामा मोटरसाइकल फेला : प्रहरीले नियन्त्रणमा लियो, अनुसन्धान सुरु
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन २८ गते । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथानामा जमिनमा पुरिएको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ। स्थानीयवासीले शङ्कास्पद रूपमा गाडिएको देखेपछि प्रहरीलाई सूचना दिएका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले खाल्डो खनेर मोटरसाइकल बाहिर निकालेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार फेला परेको मोटरसाइकल नेपाली नम्बर प्लेट ज ८ प ९९७ को सुपर स्प्लेन्डर हो। उक्त मोटरसाइकललाई हाल प्रहरी चौकी मगरथानामा राखिएको छ। प्रहरीले मोटरसाइकल कसले, कहिले र किन जमिनमा गाडेर लुकाएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चोरीको घटनासँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। वास्तविक मालिक को हो, मोटरसाइकल कसरी त्यहाँ पुग्यो र यसको पछाडि कुनै अपराधसँग जोडिएको छ कि छैन भन्ने पत्ता लगाउने प्रयास भइरहेको छ। स्थानीयवासीहरूले यस्ता घटनाले क्षेत्रमा चिन्ता बढाएको बताएका छन्। प्रहरीले मोटरसाइकलको नम्बर प्लेट र अन्य विवरण प्रयोग गरी मालिकको खोजी तथा घटनाको कारण पत्ता लगाउने कार्य तीव्र बनाएको छ। थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments