ग्यास अभावको बहाना, कालोबजारीको गुनासो बढ्दै
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन २६ गते । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेको भन्दै उपभोक्ताबाट गुनासो बढेको छ। उपभोक्ता र व्यवसायीका अनुसार बजारमा निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको छ।
लहानस्थित महाराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन्। उनका अनुसार दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागिएको थियो, जबकि निर्धारित मूल्यअनुसार दुई सिलिन्डरको ३ हजार ८२० रुपैयाँ मात्र पर्नुपर्ने हो।
त्यस्तै सिरहा नगरपालिका–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि निर्धारित मूल्यमा ग्यास नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको बताएका छन्। उनका अनुसार बजारमा एउटा सिलिन्डर किन्न करिब ४ हजार ५०० रुपैयाँसम्म तिर्नुपरेको छ।
हाल खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँ तोकिएको छ। तर बजारमा यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ। उपभोक्ता अधिकारकर्मीहरूले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल बजार अनुगमन गर्न आग्रह गरेका छन्।
यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कालोबजारी गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनले वाणिज्य कार्यालय र अन्य सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन गरिने र दोषी पाइए कानुनबमोजिम कारबाही गरिने बताएका छन्।
उता नेपाल आयल निगमका स्थानीय वितरकहरूले भने ढुवानी तथा आपूर्ति व्यवस्थापनमा समस्या, निर्वाचनका कारण तीन दिन सिमाना बन्द हुनु र उपभोक्ताले ग्यास भण्डारण गरेर राख्नुजस्ता कारणले बजारमा अस्थायी अभाव देखिएको दाबी गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments