माछा मार्न गएका युवकको पोखरीमा डुबेर मृत्यु : चार घण्टाको प्रयासपछि शव बाहिर
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन २६ गते । सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। सोही नगरपालिका वडा नम्बर ४ निवासी २५ वर्षीय ‘बौवा’ भनिने गजेन्द्र दासको मङ्गलवार बिहान डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार मङ्गलवार बिहान करिब ७ बजे माछा मार्न पोखरीमा पसेका दासले दुई पटक माछा मारेर बाहिर निस्किएका थिए। तर तेस्रो पटक पुनः पोखरीमा पस्दा उनी डुबेका थिए। स्थानीय सन्तोष थापाले घटनाको विवरण दिँदै दास तेस्रो पटक पोखरीमा गएपछि नउठेको बताएका छन्।
युवक डुबेको सूचना पाउनासाथ नेपाली सेनाको बरख गण, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोर टोली घटनास्थलमा पुगेको थियो। करिब चार घण्टाको निरन्तर प्रयासपछि टोलीले मृत अवस्थामा शव बाहिर निकालेको राजविराजस्थित बरख गणका गणपति प्रमुख सेनानी सोभितबहादुर चन्दले जानकारी दिए।
मृतक गजेन्द्र दासको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पोखरीमा डुबेर हुने यस्ता घटना रोक्न स्थानीय स्तरमा सचेतना फैलाउनुपर्ने आवश्यकता देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments