बालेन्द्र शाहको तौल बराबर लड्डु वितरण

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन २५ गते ।  काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि धनुषा जिल्लाको मिथिला नगरपालिकामा खुशीको लहर चल्दै लड्डु वितरण कार्यक्रम आयोजना गरिएको छ। मिथिला नगरपालिका–२ नक्टाझिजस्थित विश्वकर्मा चोक निवासी युवक ललित कुमार राय (गुजर) ले चुनावअघि नै बालेनले झापा–५ बाट जित हासिल गरेमा उनको तौल बराबर लड्डु बाँड्ने वाचा गरेका थिए।

उक्त वाचाअनुसार सोमबार नक्टाझिज विश्वकर्मा चोकमा बालेन्द्र शाहको तौल बराबर लड्डु वितरण गर्ने कार्यक्रम तय भएको छ। स्थानीय सरोज कुमार महतोका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। बालेनको जितप्रति खुशी व्यक्त गर्दै सामूहिक रूपमा लड्डु बाँड्ने यो कार्यक्रम स्थानीय स्तरमा निकै चर्चित बनेको छ।

कार्यक्रमको औपचारिक उद्घाटन धनुषा क्षेत्र नं. ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राज किशोर महतोले गर्ने तय भएको छ। स्थानीयवासीहरूका अनुसार बालेनको जितले युवा पुस्तामा नयाँ उत्साह भरेको र यो खुशी साटासाट गर्न लड्डु वितरण जस्तो सरल तर अर्थपूर्ण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा मिथिला नगरपालिका तथा आसपासका क्षेत्रका स्थानीयवासीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। बालेन्द्र शाहको राजनीतिक सफलताले जनकपुरधाम र धनुषा जिल्लामा पनि विशेष उत्साह जगाएको देखिन्छ, जसको प्रतीकस्वरूप यो लड्डु वितरणलाई स्थानीयहरूले ‘बालेन जित महोत्सव’ को रूपमा मनाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?