कांग्रेस नेता कमलेश्वर सिन्हामाथि आक्रमण, घाइते भएपछि अस्पताल भर्ना
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन २५ गते । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ। बलरा–४ स्थित बाटोमा आफ्ना छोरा र नातिसँगै गाडीमा बसिरहेको बेला उनीमाथि आक्रमण भएको पीडित पक्षले बताएका छन्।
पीडित कमलेश्वर सिन्हाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन्। आक्रमणबाट घाइते भएका सिन्हालाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ भने गाडीमा सामान्य क्षति पुगेको छ।
प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताएका छन्। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको भए पनि पीडित पक्षले आरोपितहरूविरुद्ध उजुरी दर्ता गर्न प्रक्रिया अगाडि बढाइरहेको जनाइएको छ।
यस घटनाप्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ ले गम्भीर आपत्ति जनाउँदै दोषीहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्न प्रशासनसँग माग गरेको छ। पार्टीले राजनीतिक आस्थाका आधारमा हुने यस्ता हिंसात्मक घटनाले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन जोड दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments