होलिका दहन र रङ उत्सवको परम्परा

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन १९ गते । तराई–मधेशका जिल्लामा फागुपूर्णिमा अर्थात् होली सोमबारदेखि सुरु भएको छ। परम्पराअनुसार फागुन शुक्ल पूर्णिमाको राति होलिकाको प्रतिमा बनाई दहन गरिन्छ र भोलिपल्ट रङ तथा अबिर खेलेर उत्सव मनाइन्छ। तर यस वर्ष चन्द्रग्रहण परेकाले मधेश क्षेत्रमा दुई दिन होली मनाउने गरिएको छ। मङ्गलबार बिहान १० बजेदेखि सुतक लाग्ने र साँझ ५ बजे चन्द्रग्रहण सुरु भई ६ बजेर ३ मिनेटमा समाप्त हुने जानकारी राजदेवी मन्दिरका पण्डित भोलानाथ चौधरीले दिएका छन्। यस कारण केहीले मङ्गलबार र केहीले बुधबार होली मनाउने भएका छन्। हिमाल र पहाडमा भने आइतबार नै होली खेलिएको थियो।

धार्मिक विश्वासअनुसार त्रेतायुगमा भक्त प्रह्लादलाई जलाउन खोज्दा होलिका दहन भई सत्यको विजय भएको स्मरणमा यो पर्व मनाइन्छ। असत्य माथि सत्य र अधर्म माथि धर्मको जितको प्रतीकका रूपमा होली मनाउने परम्परा छ। मालपुवा, खिर, फलफूल र मिठाइ कुलदेवतामा चढाएर रङ खेल्ने चलन रहेको स्थानीय बताउँछन्। पहिले रातो अबिर मात्र प्रयोग गरिन्थ्यो, जसलाई विजय र शुभताको प्रतीक मानिन्थ्यो। पछिल्लो समय रासायनिक रङको प्रयोग बढेपछि स्वास्थ्यमा असर पर्ने भएकाले प्राकृतिक रङ प्रयोग गर्न सुझाव दिइएको छ। होलीलाई अनेकतामा एकताको पर्व मानिँदै सबै उमेर समूहका मानिसले जातधर्मको भेदभाव बिना सामूहिक रूपमा रङ खेल्दै ‘जोगिरा’ गाएर उत्सव मनाउने परम्परा रहिआएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?