सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने चार प्रहरी कर्मचारी पुरस्कृत
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन १७ गते । पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सक्रिय भूमिका निर्वाह गर्ने चार प्रहरी कर्मचारीलाई शनिबार नगदसहित पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी निरीक्षक वीरेन्द्र बिसी, प्रहरी नायब निरीक्षक सुजन पुडासैनी र प्रहरी जवान अजय सहनी छन्।
सिरहाको सुखीपुर नगरपालिका–९ बैशाखा घर भएका सब–इन्जिनियर यादवको फागुन ३ गते साँझ मलङ्गवा नगरपालिका–१० देबी टोलको डेरामा गोली प्रहार गरी हत्या गरिएको थियो। प्रहरी अनुसन्धानबाट मुख्य योजनाकार महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का ३४ वर्षीय प्राविधिक सहायक गणेशकुमार महतो, उनका सालो बसबरिया गाउँपालिका–२ का २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहा र भाइ २२ वर्षीय विजयकुमार महतो पक्राउ परेका छन्। जागिरको लोभमा लोक सेवा आयोगको वैकल्पिक उम्मेदवार सूचीमा परेका गणेशकुमारले सालो र भाइसँग मिलेर हत्या गराएको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का र डीएसपी सरोज राईले पुरस्कार वितरण गर्दै घटनाको सफल अनुसन्धानले प्रहरीको मनोबल बढाएको बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments