मिथिला माध्यमिकी परिक्रमा अन्तिम चरणमा: यात्रीहरू फेरि भारत पुगे, भोलि जनकपुरधाम फर्किँदै
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन १७ गते । मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू दोस्रो पटक भारत पुगेका छन्। फागुन १७ गते १३औँ दिन शनिबार मधुवनी जिल्लाको करुणामा रात्रिबास गरेका यात्रीहरू आज १४औँ दिन आइतबार मधुवनीकै बिसौल पुग्दैछन्। मध्यान्हसम्म सबै यात्री बिसौल पुग्ने र आज रात्रिबासपछि भोलि सोमबार १५औँ दिन जनकपुरधाम फर्किने कार्यक्रम छ। फागुन औँसीदेखि सुरु भएको यो १५ दिने यात्रामा नेपालतर्फ ११ र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा छ। यसअघि दोस्रो र तेस्रो दिन पनि यात्रीहरू मधुवनीकै कल्याणेश्वर (कलना) र गिरिजास्थान (फुलहर) मा बसेका थिए।
यो परिक्रमा प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्रमा राखेर १३३ किलोमिटरको बृत्तमा गरिन्छ। त्रेतायुगमा श्रीराम र सीताले विवाहपछि विहार गर्ने पदचापको अनुशरण मानिने यो यात्रा नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धको अनुपम उदाहरण बनेको छ। सीमावर्ती क्षेत्रका बासिन्दाहरूले दुःख–सुख एकआपसमा बाँड्दै आएको बताउँछन्। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले भने, “बीचको दशगजा वारिपारिका हामी बासिन्दा छौँ, बोली, रीतिथिति, वेशभूषा र चाडपर्व समान हुँदा फरक देशको अनुभूति नै हुँदैन।” मैथिल संस्कृतिविद् ध्रुवरायले यो यात्रालाई “अलौकिक, आनन्द र निस्फिक्री” को रूपमा वर्णन गर्दै नेपाल–भारतको बहुआयामिक सम्बन्धको सेतु भनेका छन्। यस्ता सांस्कृतिक परम्पराले दुई देशबीचको वैवाहिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments