सर्लाहीमा निर्वाचन खर्च पारदर्शितामा उम्मेदवार उदासीन
16 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन १२ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका उम्मेदवारहरू निर्वाचन खर्च व्यवस्थापनसम्बन्धी नियम पालना गर्न उदासीन देखिएका छन्। प्रचार–प्रसारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था भए पनि अधिकांश उम्मेदवारले हालसम्म आवश्यक विवरण बुझाएका छैनन्। निर्वाचन आयोगको निर्देशनअनुसार खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले अलग बैंक खातामार्फत मात्रै आम्दानी तथा खर्च गर्नुपर्ने प्रावधान रहेको छ।
जिल्लामा कायम १३१ जना उम्मेदवारमध्ये सोमबारसम्म १९ जनाले मात्रै बैंक खाता खोलेको प्रमाण पेस गरेका छन्। जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार २६ राजनीतिक दल र स्वतन्त्र गरी कुल १३१ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमध्ये ७६ जनाले बैंक खाता खोल्न सिफारिस लिए पनि विवरण बुझाउन ढिलाइ भइरहेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयले उम्मेदवारलाई बारम्बार स्मरण गराउँदै आएको जनाउँदै समयमै खाता नखोली निर्वाचन खर्च गरे नियम उल्लङ्घन हुने स्पष्ट चेतावनी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments