मिथिला माध्यमिकी परिक्रमा कञ्चनवन पुग्यो, आजैदेखि मिथिलाञ्चलमा होली सुरु

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ११ गते ।  मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने **मिथिला माध्यमिकी परिक्रमा** सोमबार महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरीस्थित कञ्चनवन पुगेको छ। ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा यात्रीहरू कञ्चनवन आइपुगेपछि परम्पराअनुसार होली खेल्दै छन्। त्रेतायुगमा भगवान् राम र माता सीताले रङ–अविर खोलेर होली मनाएको धार्मिक विश्वासका आधारमा कञ्चनवनमा होली खेलेपछि मिथिलाञ्चलमा विधिवत् होलीको सुरुवात भएको मानिन्छ।

भंगहा नगरपालिकाले परिक्रमा सहभागी श्रद्धालु, साधुसन्त तथा तीर्थयात्रीहरूलाई भव्य स्वागत गरेको छ। नगरप्रमुख संजिव साहका अनुसार ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल तथा आवास व्यवस्था गरिएको छ। तीर्थालुहरूका लागि पुवा, खीर, सर्वत, अबिर, फूलमाला लगायतको व्यवस्था मिलाइएको छ भने होली मिलन समारोह र सांस्कृतिक कार्यक्रमका लागि मञ्च तयार पारिएको छ। रङ, अविर र फूलमालाले एकअर्कालाई स्वागत गर्दै उल्लासमय होली खेल्ने परम्परा कञ्चनवनमा जीवन्त छ।

फागुन ४ गतेदेखि धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको यो परिक्रमा मिथिला बिहारी भगवान् रामचन्द्र र किशोरीजी (माता जानकी) का डोलाको नेतृत्वमा भजन–कीर्तनसहित १५ दिने यात्रा गर्दैछ। यसअघि हनुमानगढी, कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडई हुँदै ध्रुवकुण्ड पुगेको परिक्रमा कञ्चनवनपछि पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्वर हुँदै फागुन पूर्णिमामा जनकपुरधाम फर्कनेछ।

नेपाल र भारतका गरी १५ विश्रामस्थल (नेपालमा १३, भारतमा २) पार गर्दै कुल १३३ किलोमिटर (नेपालमा १०७, भारतमा २६) पैदल यात्रा गर्ने यो परिक्रमा नेपाल–भारतबीच धार्मिक, सांस्कृतिक तथा पारम्परिक सद्भावको प्रतीक बनेको छ। हजारौं श्रद्धालु सहभागी हुने यो यात्रामा भाग लिँदा मन, वचन र कर्मका पाप नष्ट भई मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता छ। कञ्चनवनमा रात्रि विश्रामपछि परिक्रमा अर्को गन्तव्यतर्फ अघि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?