गौरमा अनिश्चितकालीन कर्फ्यू फुकुवा, शान्ति सुरक्षा सामान्य बन्दै
17 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन ११ गते । रौतहटको सदरमुकाम गौरमा गत शनिबारदेखि लागू गरिएको अनिश्चितकालीन कर्फ्यू सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाइएको छ। गौर नगरपालिका–६ सबगढा क्षेत्रमा दुई समुदायबीच उत्पन्न विवाद र तनाव क्रमशः सामान्यीकरणतर्फ उन्मुख भएपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू फुकुवाको निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले हाल जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था सामान्य रहेको बताउँदै सर्वसाधारणलाई शान्ति तथा सद्भाव कायम राख्न अपिल गरेका छन्।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९)(क) बमोजिम शनिबार दिउँसो १ बजेदेखि लागू गरिएको कर्फ्यूले मुडवलवा गेटदेखि गौर भन्सार कार्यालय गेटसम्मको क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस र प्रदर्शन पूर्ण रूपमा निषेध गरेको थियो। साम्प्रदायिक तनाव तथा झडपबाट हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न लगाइएको उक्त कर्फ्यू दुवै पक्षबीच भएको संवाद, सहमति र स्थानीय स्तरमा चालिएका शान्ति प्रयासपछि हटाइएको प्रशासनले जनाएको छ। यससँगै गौरबासीले दैनिक जीवन सामान्य रूपमा सञ्चालन गर्न पाउने भएका छन्।
कमेन्ट गर्नुहोस्
view comments