एमालेको झण्डा र उम्मेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाउने एक जना पक्राउ

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन १० गते । सप्तरीमा नेकपा (एमाले) को झण्डा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाउने एक व्यक्तिलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। महादेवा गाउँपालिका–५, भगवतपुरका २५ वर्षीय हरिनारायण मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता डम्बरबहादुर पुरीले जानकारी दिए।

घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। भिडियोमा ‘एमाले पार्टी मुर्दावाद, मधेसमा यस्तो स्वागत छ’ भन्दै अश्लील गाली गर्दै एमालेको झण्डा जलाएको र ‘जय मधेस, जय घण्टी’ को नारा लगाएको देखिन्छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, नेकपा (एमाले) सप्तरीका सचिव देवनाथ यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। उनले यो घटनालाई निर्वाचन आचारसंहिताविपरीत र राजनीतिक असहिष्णुताको रूपमा लिएका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। यो घटनाले निर्वाचनको समयमा राजनीतिक तनाव बढेको संकेत गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?