जलेश्वरमा माध्यमिक परिक्रमाको भव्य स्वागत, धार्मिक उत्साहले शहर उत्साहित

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ८ गते ।  मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमाको धार्मिक लस्कर शुक्रबार बिहान जलेश्वर आइपुग्दा स्थानीयवासीले भव्य स्वागत गरेका छन्। परशुराम साह नेतृत्वको मिथिला परिक्रमा धर्मसंस्थाको अगुवाइमा साधु–सन्त, महन्थ तथा श्रद्धालुहरूलाई वैण्डबाजा, सहनाई र फूलमालासहित स्वागत गरिएको हो। भार्गवसर कुट्टी क्षेत्रमा आयोजित स्वागत कार्यक्रममा नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवसहित प्रशासन, नागरिक समाज, युवा तथा महिला समूहको उल्लेखनीय सहभागिता रहेको थियो। परिक्रमावासीका लागि आवास, भोजन र आकस्मिक उपचारको व्यवस्था गरिनुका साथै तीन सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको आयोजकले जनाएको छ।

धर्मयात्रा धनुषाको कचुरीमठबाट प्रारम्भ भई मिथिला विहारी, अग्निकुण्ड, जनकपुरधामस्थित जानकी मन्दिर हुँदै विभिन्न धार्मिक स्थल पार गर्दै मटिहानीपछि जलेश्वर आइपुगेको हो। १८औँ शताब्दीदेखि सञ्चालन हुँदै आएको यस माध्यमिक परिक्रमामा नेपालका १०७ किलोमिटर र भारतका २६ किलोमिटर गरी कुल १३३ किलोमिटर पैदल यात्रा गर्ने परम्परा छ। नेपाल र भारतका हजारौँ साधु–सन्त तथा श्रद्धालुको सहभागिताले धार्मिक, सांस्कृतिक र ऐतिहासिक एकताको सन्देश फैलाउँदै आएको यस यात्रा फागुन पूर्णिमामा जनकपुर फर्केर अन्तगृह परिक्रमा सम्पन्न भएसँगै समापन हुने परम्परा रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?