ईश्वरपुरमा तीन मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु, दुई घाइते

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ७ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ को बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक गएराति करिब ८ बजे तीनवटा भारतीय नम्बरका मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार दुर्घटनामा हरीपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने करिब ३० वर्षीय मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो। दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही ठाउँका २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन्। घटनाको अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीनवटा मोटरसाइकल एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेका थिए। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो दुर्घटनाले सडक सुरक्षा र रातको समयमा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानीबारे पुनः बहस सुरु गरेको छ। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन विभिन्न कोणबाट जाँच गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?