मिथिला मध्यमा परिक्रमामा श्रद्धालुको सेवाका लागि हेल्प डेस्क सञ्चालन

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ५ गते । जनकपुरधाममा क्लोथ बैंक नेपालनेपाल–भारत खुला सीमा संवाद समूह द्वारा प्रत्येक वर्षझैँ यस वर्ष पनि मिथिला मध्यमा परिक्रमाको अवसरमा नेपाल तथा भारतबाट आउने साधु–सन्त, महन्थ, श्रद्धालु र तीर्थयात्रीहरूको सेवाका लागि हेल्प डेस्क सञ्चालन गरिएको छ। उक्त हेल्प डेस्कमार्फत निःशुल्क स्वास्थ्य शिविर, शुद्ध पिउने पानी, प्राथमिक उपचार तथा औषधि वितरणजस्ता आधारभूत सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। हालसम्म हजारभन्दा बढी श्रद्धालुले प्रत्यक्ष रूपमा सेवा लिइसकेको र नेपालतर्फ पर्ने परिक्रमा मार्गका सबै बासास्थलहरूमा शिविर सञ्चालन गरिने जानकारी दिइएको छ।

शिविर अवलोकनमा मधेस प्रदेशका सभामुख राम अशिष यादव तथा धनुषा क्षेत्र नम्बर–३ का रास्वपा उम्मेदवार मनिष झालगायत सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार उनीहरूको सहभागिताले स्वयंसेवकहरूको उत्साह बढेको छ। कार्यक्रममा डा. अजय मिश्रा, दयाकान्त झा, दिलिप मिश्रा, क्लोथ बैंक नेपालका अध्यक्ष राजीव झा, सचिव मनिष श्रीओम, कोषाध्यक्ष रुबि झा, धनेश्वर ठाकुर, कृष्ण कुमार साह, जितेन्द्र महासेठ, अम्बु प्रसाद साह, नन्दकुमार झा, राधारमण झा र इन्द्रेस झालगायतको सक्रिय सहभागिता रहेको थियो।

चिकित्सक, समाजसेवी तथा स्थानीय अगुवाहरूको सक्रिय सहयोगमा सञ्चालन भइरहेको सेवा अभियानले धार्मिक यात्रालाई थप सहज बनाएको छ। श्रद्धालुहरूले खुला सीमाको सहज आवागमनले नेपाल–भारतबीचको धार्मिक आस्था, सांस्कृतिक एकता र ऐतिहासिक सम्बन्ध अझ सुदृढ भएको धारणा व्यक्त गर्दै मिथिला मध्यमा परिक्रमा साझा सभ्यता र आत्मीय सम्बन्धको जीवन्त प्रतीक बनेको बताएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?