करदाता सेवा कार्यालय सार्ने प्रयासको विरोधमा गौर बजार तनावग्रस्त: व्यापारी र राजनीतिक दलद्वारा आन्दोलनको घोषणा

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन १ गते । रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्ने सरकारी प्रयासले शुक्रबार गौर बजार तनावग्रस्त बनेको छ। सरकारको यस निर्णयको विरोधमा स्थानीय व्यापारी, व्यवसायी र युवाहरू आन्दोलित भएका छन्। कार्यालयका सामग्रीहरू ट्रकमा लोड गरी सिमरा सार्न खोज्दा रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीसहित स्थानीयले ट्रक रोकेर धर्ना दिएका थिए। स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मी परिचालन गरियो र अन्ततः ट्रकमा लोड गरिएका सामग्रीहरू पुनः कार्यालयमै अनलोड गरी फिर्ता गरियो। स्थानीय व्यापारीहरूले पूर्वजानकारीविना र निर्वाचनको मुखमा गरिएको यो कदम तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन्।
 
यस विषयमा नेपाली काँग्रेसका युवा नेता नितेशकुमार गुप्ता, नेकपा (एमाले)का नेता अजयकुमार गुप्ता, नेकपाका नेता रेबन्त झा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीलगायतका राजनीतिक दलका नेताहरूले पनि कार्यालय सार्ने प्रयासप्रति आपत्ति जनाएका छन्। उनीहरूले यस कदमले स्थानीय सेवाग्राही र व्यापारीहरूलाई प्रत्यक्ष मारमा पार्ने चेतावनी दिएका छन्। हाल गौरका व्यापारीहरूले पसल बन्द गरेर प्रदर्शन गरिरहेका छन् भने भन्सार कार्यालय अगाडि नाराबाजी जारी छ। सरकारको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाइ छ, जसका कारण गौर बजार पूर्ण रूपमा प्रभावित बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?