धनुषामा भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढी उजुरी दर्ता
19 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा धनुषा जिल्लाबाट भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढी उजुरी दर्ता भएका छन्। कार्यालयका अनुसार चालु आर्थिक वर्षको पछिल्ला ६ महिनामा कुल दुई हजार ५२५ उजुरी दर्ता भएकामा धनुषाका मात्रै ७८० उजुरी रहेका छन्। प्रदेश राजधानी रहेको यस जिल्लामा १८ वटा पालिका छन्। कार्यालयका उपसचिव प्रकाश पोखरेलका अनुसार दर्ता भएका उजुरीमध्ये ८१२ फर्छ्यौट भएका छन् भने एक हजार ७१३ उजुरी छानबिनको क्रममा छन्। दर्ता उजुरीमध्ये ७२.६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको जनाइएको छ।
जिल्लागत रूपमा महोत्तरीका ५१४, सिरहाका ४८१, सर्लाहीका ३९७ र सबैभन्दा कम सोलुखुम्बूका ३९ उजुरी दर्ता भएका छन्। आयोगले उजुरीहरूको ‘स्क्रिनिङ’ गरी प्रारम्भिक तथा विस्तृत छानबिनमार्फत तामेली गर्ने, आवश्यक कारबाहीका लागि लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाउँदै आएको जनाएको छ। चालु आवको ६ महिनामा ६०५ उजुरी तामेली, १० उजुरी सुझावसहित तामेली, ७९ मा आवश्यक कारबाहीका लागि लेखी पठाइएको र ११८ उजुरी एकीकरण गरिएको उपसचिव पोखरेलले जानकारी दिए। आयोगको बर्दिवास कार्यालयअन्तर्गत मधेस, कोशी र बागमती प्रदेशका विभिन्न जिल्लाहरू पर्ने गरेका छन्। कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचार नियन्त्रणमा आयोग सदाचार, निष्पक्षता र निर्भिकताका साथ प्रतिबद्ध रहेको बताए।
कमेन्ट गर्नुहोस्
view comments