स्थानीय तह कार्यसम्पादनमा मधेसका पालिका कमजोर, शीर्ष १० मा सबै मधेसकै
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २९ गते । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर १० स्थानीय तहमा मधेस प्रदेशकै पालिकाहरू परेका छन् । आयोगले बजेट तर्जुमा, खर्चको अवस्था, राजस्व परिचालन, सुशासन, सेवा प्रवाहलगायत १७ सूचकका आधारमा गरेको मूल्याङ्कनमा रौतहटको देवाही गोनाही नगरपालिका ३०.९१ अङ्कसहित देशकै सबैभन्दा कमजोर स्थानीय तहका रूपमा सूचीकृत भएको छ ।
दोस्रो स्थानमा रौतहटकै वृन्दावन नगरपालिका ३१.६९ अङ्कसहित रहेको छ भने धनुषाको धनौजी गाउँपालिका ३२.८१ अङ्कसहित तेस्रो र पर्साको धोबिनी गाउँपालिका ३२.८८ अङ्कसहित चौथो स्थानमा परेका छन् । धनुषाको सबैला नगरपालिका (३४), सप्तरीको अग्नीसायर कृष्ण सवरन गाउँपालिका (३४.८१), धनुषाकै नगराइन नगरपालिका र महोत्तरीको सोनमा गाउँपालिका (दुवै ३५), सर्लाहीको चन्द्रनगर गाउँपालिका (३५.१६) तथा रौतहटको फतुवा विजयपुर नगरपालिका (३५.४१) पनि कमजोर कार्यसम्पादन गर्ने सूचीमा परेका छन् ।
विशेषगरी रौतहट र धनुषा जिल्लाका स्थानीय तहहरू लेखापरीक्षण, बेरुजु, विद्यालयमा विद्यार्थी टिकाउ दर र स्वास्थ्य सेवा जस्ता आधारभूत सूचकमा कमजोर देखिएका छन् । यसरी न्यून कार्यसम्पादन भएका स्थानीय तहहरूले आगामी दिनमा सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानमा समेत कटौतीको सामना गर्नुपर्ने सम्भावना रहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
view comments