घाँस काटेको विवादमा सामूहिक आक्रमण : तीन महिला गम्भीर घाइते, एकजना पक्राउ

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ २७ गते । रौतहटको देवानी गोनाही नगरपालिकाअन्तर्गत खेतमा घाँस काटेको विवादलाई लिएर सोमबार राति भएको सामूहिक आक्रमणमा तीन जना महिला गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

घाइते हुनेमा वडा नं. ५ टीकुलिया गाउँका महेश तिवारीका छोरीहरू २५ वर्षीया अस्मिता तिवारी र १५ वर्षीया सुस्मिता तिवारी तथा छिमेकी बचेलाल मुखियाकी श्रीमती ४० वर्षीया अनतिया बिन रहेका छन्। महेश तिवारीका भतिज राजेश तिवारीका अनुसार अनतियाको टाउकोमा गहिरो चोट लागेको छ भने अस्मिता र सुस्मिताको जिउभरि चोटपटक लागेको छ। घटना लगत्तै घाइतेहरूलाई एम्बुलेन्समार्फत बारा कलैयास्थित ए प्लस अस्पतालमा लगिएको थियो। अस्पतालका चिकित्सकका अनुसार घाइतेहरूलाई आईसीयूमा राखेर उपचार भइरहेको र अवस्था क्रमशः सुधार हुँदै गएको छ।

घटनाको विवरणअनुसार महेश तिवारीको तोरीको खेतमा शङ्कर राय यादवका घरका महिलाहरूले आइतबार घाँस काटेका थिए। पाकेको तोरीमा घाँस काट्दा क्षति पुगेको भन्दै अस्मिताले सोमबार साँझ शङ्कर रायलाई गुनासो गर्दा भनाभन भएको थियो। विवाद बढेपछि शङ्कर राय यादव, उनका छोरा शम्भु राय यादव तथा घरका महिलाहरू तिवारीको घरभित्र पसेर फलामको रडलगायत हतियार प्रयोग गरी छोरीहरू र छुटाउन आएकी अनतिया बिनमाथि कुटपिट गरेका थिए।

रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार घटनामा संलग्न शङ्कर राय यादवका छोरा ४० वर्षीय शम्भु राय यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ। घटनापछि लुकेर बसेका शङ्कर राय यादव पनि राति प्रहरी फिर्ता भएपछि घाइते भएको बहाना बनाएर एम्बुलेन्समा उपचार गराउन गएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। पीडित पक्षले दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?