प्रादेशिक ललितकला प्रदर्शनी–२०८२ जनकपुरधाममा सुरु : मधेसका कलाकारहरूको सिर्जना प्रदर्शन

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २६ गते ।  नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ। प्राविधिक कारणले यसअघि स्थगित गरिएको प्रदर्शनी अब जनकपुरधाममा जारी रहनेछ। प्रदर्शनीमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूका चित्रकला, मूर्तिकला, हस्तकला तथा समसामयिक कला कृतिहरू प्रदर्शनमा राखिएका छन्।

प्रदर्शनीको उद्घाटन गर्दै मधेस प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले मधेसका कलाकारहरूले आफ्नो कला, संस्कृति र पहिचानलाई सिर्जनात्मक माध्यमबाट उजागर गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “ललितकला पहिचान र सभ्यताको प्रतिविम्ब हो। मधेस प्रदेशका कलाकारहरूले आफ्ना सिर्जनामार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रदेशको गौरव बढाइरहेका छन्। यस्ता प्रदर्शनीहरूले प्रतिभा पहिचान र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छन्।” प्रदेश प्रमुखले राज्यले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले प्रदर्शनीमा मधेस प्रदेशका मौलिक कला, संस्कृति र पहिचानलाई उजागर गर्ने कृतिहरू समावेश भएको बताउनुभयो। यसले स्थानीय कलाकारहरूको प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने र मधेसको सांस्कृतिक धरोहरको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। प्रदर्शनीले मधेसका कलाकारहरूको सिर्जनालाई सम्मान गर्दै प्रदेशको सांस्कृतिक विविधतालाई विश्वसामु चिनाउने अवसर प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?