महोत्तरीका वरिष्ठ पत्रकार बैधनाथ चौधरीको निधन
17 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २५ गते । महोत्तरीका वरिष्ठ पत्रकार बैधनाथ चौधरीको आइतबार बिहान निधन भएको छ। विगत केही समयदेखि रुघाखोकी, दम लगायतका स्वास्थ्य समस्याबाट पीडित ६७ वर्षीय चौधरीको आज बिहान करिब ५ बजे पिपरा गाउँपालिका–७, दनौली बनौलीस्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ। करिब तीन दशक लामो पत्रकारिता यात्रामा गोरखापत्र दैनिक, रेडियो वीरगञ्ज तथा विभिन्न स्थानीय पत्रिकामा महोत्तरी संवाददाताका रूपमा सक्रिय रहनुभएका उहाँ नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद र मधेश प्रदेश कार्यसमितिका सदस्य पनि हुनुहुन्थ्यो। प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि भएका विभिन्न सङ्घर्ष तथा आन्दोलनमा निडर रूपमा सहभागी हुनुहुन्थ्यो। सरल, प्रतिबद्ध र मिलनसार स्वभावका चौधरीको योगदानलाई महोत्तरीसहित समग्र नेपाली पत्रकारिता क्षेत्रले उच्च सम्मानका साथ स्मरण गरेको छ।
स्वर्गीय चौधरीका श्रीमती, एक छोरी र दुई छोरा छन्। छोरा सुमित चौधरीका अनुसार उहाँको अन्तिम संस्कार आज अपराह्न गाउँकै आर्यघाटमा गरिने छ। नेपाल प्रेस युनियन महोत्तरी शाखाले शोक विज्ञप्ति जारी गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। विज्ञप्तिमा चौधरीको निधनले महोत्तरीको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको तथा युनियनसहित सम्पूर्ण पत्रकार जगत स्तब्ध र मर्माहत भएको उल्लेख छ। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments