इजाजतप्राप्त हतियार सङ्कलन प्रभावकारी नहुँदा चुनावी सुरक्षामा प्रश्न

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा महोत्तरी जिल्लामा इजाजतप्राप्त हातहतियार सङ्कलन प्रभावकारी हुन नसकेको भन्दै चुनावी सुरक्षामाथि प्रश्न उठ्न थालेको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पुस २८ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र अर्थात् माघ १३ गतेसम्म सबै इजाजतप्राप्त हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको थियो। तर, तोकिएको समयसीमा सकिएको एक साता बितिसक्दा पनि जम्मा ९ प्रतिशत अर्थात् ३१ थान हतियार मात्र बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए।

प्रशासनको अभिलेखअनुसार जिल्लामा कुल ३२३ थान इजाजतप्राप्त हतियार दर्तामा छन्। जसमा १२ बोरका एकनाले १८० र दुईनाले १०६ गरी २८६ थान, २२ बोरका एकनाले १९ र दुईनाले २ थान, एकनाले भरुवा बन्दुक ४ थान, रिभल्भर ११ थान र हावादारी बन्दुक १ थान छन्। यी हतियार ३१२ जनाले निजी सुरक्षाका लागि इजाजत लिएर राखेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

मतदान हुन अब करिब २८ दिन मात्र बाँकी रहँदा ९१ प्रतिशत अर्थात् २९२ थान हतियार अझै नागरिकको हातमै छन्। इलाका प्रहरी कार्यालय बर्दिबास मातहतका क्षेत्रमा १२ थान इजाजतप्राप्त हतियारमध्ये ६ थान मात्र बुझाइएको बर्दिबासका डिएसपी विकास बलामेले जानकारी दिए।

सुरक्षा विज्ञ तथा नेपाल प्रहरीका पूर्व एआइजी कुँवेर कडायतका अनुसार तराई–मधेशका जिल्लामा निर्वाचनका बेला राजनीतिक दबाब, धाकधम्की र झडपका घटनाको जोखिम उच्च हुन्छ। खुला सीमाका कारण हतियारको दुरुपयोग हुने सम्भावना पनि बढी रहन्छ। इजाजतप्राप्त भए पनि यस्ता हतियारले मतदातामा डरत्रास फैलाउन सक्ने र उम्मेदवारबीचको टकराव वा आकस्मिक हिंसामा प्रयोग हुन सक्ने भएकाले निर्वाचन अवधिमा प्रहरी नियन्त्रणमा राख्ने अभ्यास गरिँदै आएको उनले बताए।

महोत्तरीमा भारतको बिहार राज्यका मधुवनी र सीतामढी जिल्लासँग ३९ किलोमिटर खुला सीमा छ। जिल्लाका कुल २५८ मतदान स्थलमध्ये ६३ प्रतिशत अर्थात् १६३ वटा अति संवेदनशील र ३४ प्रतिशत अर्थात् ८९ वटा संवेदनशील सूचीमा छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले भने, “निर्वाचनका बेला हतियार गलत प्रयोजनमा प्रयोग हुन सक्ने भएकाले सङ्कलन अभियान तीव्र पारिएको छौं। मातहतका इप्रका, थाना र चौकीमार्फत् काम भइरहेको छ र बुझाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ।”

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतदान हुन करिब एक महिना बाँकी रहेकाले बाँकी सबै हतियार समयमै सङ्कलन भइसक्नेमा आफू विश्वस्त रहेको बताए। उनले जिल्लाभर कडाइका साथ सुरक्षा परिचालन गरिएको र शान्ति सुरक्षामा कुनै आशङ्का नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

यसैबीच, स्थानीय राजनीतिक दल र नागरिक समाजले हतियार सङ्कलनलाई थप प्रभावकारी बनाउन र निर्वाचनलाई निष्पक्ष तथा शान्तिपूर्ण बनाउन सरोकारवाला निकायहरूले थप सक्रियता देखाउनुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?