निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिइने : रौतहट प्रहरी प्रमुख एसपी रिजाल
21 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २२ गते । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिइने स्पष्ट गर्नुभएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरिने बताउनुभयो। विगतका निर्वाचन अनुभवलाई ध्यानमा राख्दै यसपटक विशेष सुरक्षा रणनीति अपनाइने र अघिल्ला निर्वाचनमा समस्या देखिएका स्थानहरूमा कडा निगरानी राखिने उहाँको भनाइ थियो।
कार्यक्रममा पत्रकारहरूले ट्राफिक व्यवस्थापन, सीमावर्ती क्षेत्रमा अवैध गतिविधि, भारतीय नम्बर प्लेटका सवारी प्रयोग, अवैध मदिरा तथा हतियार तस्करीलगायत विषयमा गुनासो उठाएका थिए। जवाफमा एसपी रिजालले सीमा नाकामा कडाइ, ट्राफिक व्यवस्थापन सुदृढीकरण र समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो। साथै, होली पर्वसमेत संवेदनशील रहेकाले विशेष निगरानी गरिने र प्रहरीको काममा लापरबाही भेटिए कडा कारबाही हुने चेतावनी दिनुभयो। कार्यक्रममा जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालको समेत उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments