प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि महोत्तरीमा सेना परिचालन
21 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २२ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी बुधबारदेखि महोत्तरी जिल्लामा नेपाली सेना परिचालन गरिएको छ। गोरखनाथ गण परिकौलिबाट महोत्तरीका चारै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै बेस स्थापना गरी सेना परिचालन गरिएको हो। निर्वाचन क्षेत्र नं. १ को बर्दिवास, क्षेत्र नं. २ को बलबा, क्षेत्र नं. ३ को जलेश्वर र क्षेत्र नं. ४ को रामगोपालपुरमा बेस स्थापना गरिएको गोरखनाथ गण परिकौलिका गणपति रामप्रसाद लामिछानेले जानकारी दिनुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा संयुक्त गस्ती सुरु भइसकेको र संवेदनशील मतदान स्थलहरूको निरीक्षण–अनुगमन भइरहेको उहाँले बताउनुभयो।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित सुरक्षा व्यवस्था थप मजबुत बनाइने बताइएको छ। जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा कुल चार लाख ३१ हजार २८२ मतदाता रहेका छन्। चार निर्वाचन क्षेत्रमा २५८ मतदान स्थल र ५३६ मतदान केन्द्र तोकिएका छन्, जसमा १६३ मतदान स्थल अति संवेदनशील, ८९ संवेदनशील र ६ सामान्य सूचीमा रहेका छन्। आवश्यकताअनुसार सुरक्षा टोलीलाई जिल्लाका सबै मतदान स्थलसम्म विस्तार गरिने जिल्ला प्रशासन र सुरक्षा निकायले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments