बाँके जङ्गलमा कार दुर्घटना : एकको मृत्यु, तीन घाइते
17 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २१ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गल क्षेत्रमा बुधबार बिहान कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।दुर्घटनामा परेको कार काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ५४७२ नम्बरको थियो। प्रहरीका अनुसार बाँके जङ्गलको तेस्रो लच्कामा राजमार्ग विस्तारको क्रममा निर्माणाधीन कल्भर्टका लागि बनाइएको डाइभर्सनबाट कार अनियन्त्रित भई खसेर कल्भर्टको पिलरमा ठोक्किएको हो।
मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय शुभम जैसवाल रहेका छन्। उनलाई हात, खुट्टा र छातीमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।
घाइतेहरूमा कार चालक बुटवल–१ का २३ वर्षीय साहिल बर्मा, तथा कारमा सवार ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सन्जय जैसवाल (दुवै बुटवल–१) रहेका छन्। उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर रहेको बताइएको छ।दुर्घटना बुधबार बिहान करिब २ बजे भएको थियो। प्रहरी निरीक्षक नितेशकुमार सिंहका अनुसार कार अनियन्त्रित भएपछि डाइभर्सनबाट खसेर पिलरमा ठोक्किएको हो। दुर्घटनाग्रस्त कार अझै घटनास्थलमै छ र क्रेनको सहायताले निकाल्ने प्रयास जारी छ।
यसैबीच, पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा सर्लाही जिल्लामा दर्जनौं स्थानमा डाइभर्सनहरू निर्माण भइरहेका छन्। यसले सवारी साधनहरूमा जोखिम बढाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। यस्ता निर्माणाधीन क्षेत्रहरूमा गति नियन्त्रण, साइडलाइट प्रयोग र सडक संकेतहरूको पालना गर्न प्रहरीले जोड दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments