निर्वाचन आचारसंहिता कडाइका साथ पालन गर्न प्रशासनको निर्देशन

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २० गते ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आयोग नेपालबाट स्वीकृत भई जारी भएको निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वयनका सन्दर्भमा सूचना जारी गर्दै सञ्चार प्रतिष्ठान, त्यहाँ कार्यरत कर्मचारी, सञ्चारकर्मी, राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि तथा अन्य सरोकारवालालाई कसैको पक्ष वा विपक्षमा कुनै पनि किसिमको प्रचार–प्रसार नगर्न आग्रह गरेको हो।

सूचनामा एसएमएस, सामाजिक सञ्जाल, अनलाइन, छापा तथा विद्युतीय माध्यममार्फत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ।

यस्तै, सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनजस्ता गतिविधि गर्न वा गराउन नहुने अनुगमन अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा जारी सूचनामा उल्लेख छ।

आचारसंहिता विपरीत गतिविधि भएको वा गराइएको पाइएमा निर्वाचन आचारसंहिता २०८२ अनुसार आवश्यक कारबाही गरिने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालयले दिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सबै सम्बन्धित पक्षलाई निर्वाचन आचारसंहिता पालना गरी निर्वाचनलाई मर्यादित, स्वच्छ र विश्वसनीय बनाउन सहयोग गर्न आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?