सर्लाहीमा छ महिनामा २९ जनाको ज्यान गयो, ६४१ सवारी दुर्घटना

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ १८ गते ।  सवारी दुर्घटनाका कारण सर्लाही जिल्लामा चालु आर्थिक वर्षको पहिलो छ महिनामा २९ जनाको मृत्यु भएको छ भने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी जम्मा ६४१ वटा साना–ठूला सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति रहेको पाइएको छ । विशेष गरी जिल्लाका भित्री सडकखण्डमा दुर्घटनाको जोखिम बढी रहेको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक साहका अनुसार सवारी चालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटना बढ्ने गरेको छ । यसलाई न्यूनीकरण गर्न विद्यालयका बालबालिका, स्थानीय र पैदलयात्रीलाई सहभागी गराई दर्जनौँ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट ४८ लाख २८ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालक अनुमतिपत्र नभएका, हेलमेट नलगाएका मोटरसाइकल चालक, क्षमताभन्दा बढी सामान बोकेका सवारी तथा अनुमति विना चलेका यात्रुवाहक सवारीमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ । साथै लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको नियमअनुसार कडाइका साथ जाँच गर्दा सात हजार २७ बसमध्ये २२ वटाले नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?