मधेश प्रदेशमा निर्वाचन सुरक्षा कडा: ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ड्रोन र सीसी क्यामेराबाट निगरानी
3 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ १८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन मधेश प्रदेशभरि तीन तहको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार अति संवेदनशील मतदानस्थलहरूमा ड्रोन र सीसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको छ। प्रदेशका आठै जिल्लामा कुल २,१६० मतदानस्थल र ४,४७१ मतदान केन्द्र रहेका छन्, जसमध्ये ५७ प्रतिशत अर्थात् २,३७ मतदान केन्द्र अति संवेदनशील सूचीमा परेका छन्।
सुरक्षाको दृष्टिकोणले सप्तरी जिल्लामा सबैभन्दा बढी चुनौती रहेको छ। सप्तरीका २९६ मतदानस्थलमध्ये २०९ वटा अति संवेदनशील छन्। त्यसैगरी धनुषामा १९४, महोत्तरीमा १६३, सर्लाहीमा १५८, रौतहटमा १५२, बारामा १५४ र सिरहामा १५४ मतदानस्थल अति संवेदनशील सूचीमा छन्। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार मतदाताको चाप, सामाजिक–सांस्कृतिक परिवेश, विगतका घटनाक्रम, भौगोलिक अवस्था र राजनीतिक गतिविधिका आधारमा मतदानस्थल वर्गीकरण गरिएको छ। खुला सीमाका कारण अवैध प्रवेश, दोहोरो मतदान प्रयास र अन्य अवाञ्छित गतिविधिको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा रणनीति बनाइएको छ।
प्रदेशमा नेपाल प्रहरीबाट १२,६००, निर्वाचन (म्यादी) प्रहरीबाट २८,२९५, सशस्त्र प्रहरीबाट १० हजार र नेपाली सेनासमेत गरी ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने डीआईजी थपलियाले जानकारी दिएका छन्। सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनीका डीआईजी कृष्ण ढकालका अनुसार आठै जिल्लामा ४,३३६ सशस्त्र प्रहरी र २,८३२ निर्वाचन प्रहरी तयारी अवस्थामा छन्। मुख्य निर्वाचन अधिकृत कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मोबाइल टोली र रिजर्भ फोर्समार्फत जनशक्ति खटाइएको छ।
धनुषा र महोत्तरीमा भारतको बिहारसँग जोडिएको करिब ३९ किलोमिटर खुला सीमाका कारण थप चुनौती छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुस २४ गते सीतामढीसँग सुरक्षा बैठक सम्पन्न भइसकेको बताएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले फागुन ९ गते मधुवनीसँग जनकपुरमा बैठक तयारी भइरहेको जानकारी दिए। यी प्रयासले निर्वाचनलाई सुरक्षित र विश्वसनीय बनाउने विश्वास लिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments