सहिद दुर्गानन्द झाको स्मृति दिवस: आज तीन स्थानमा एकसाथ श्रद्धाञ्जलि

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ १५ गते। महान सहिद दुर्गानन्द झाको स्मृति दिवस आज विभिन्न स्थानमा एकसाथ स्मरण गरिएको छ। नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले बिहानै सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै माल्यार्पण गर्नुभयो। उहाँले सामाजिक सञ्जालमार्फत लेख्नुभयो, “महान शहीद दुर्गानन्द झाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिहानै माल्यार्पण गरियो। देश, लोकतन्त्र र मधेसको स्वाभिमानका लागि उहाँले गर्नुभएको बलिदान सधैं स्मरणीय रहनेछ। शहीदको सपना साकार पार्ने संकल्पसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।”

दुर्गानन्द झा स्मारक निर्माण समितिको आयोजनामा जनकपुरको गंगा सागर घाटको पूर्वी डिलमा शम्भुनाथ झाको अध्यक्षतामा योग तथा ध्यान शिविर सञ्चालन गरी सहिदलाई स्मरण गरिएको थियो। यसअघि नेता निधिले जनकपुरको लादोबेलास्थित सिक्स लेन जाने बाटोमा रहेको सहिद दुर्गानन्द झाको शालिकमा माल्यार्पण गर्नुभयो। सो अवसरमा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साह, वरिष्ठ अधिवक्ता श्याम मिश्र, इन्जिनियर गोपाल झा, योग गुरु मनोहर साह, पूर्व सचिव कौशल किशोर झालगायतका विशिष्ट व्यक्तिहरू उपस्थित थिए। आजै नेता निधि नगराइन नगरपालिकाको जटही पुगेर सहिद झाको अर्को शालिकमा पनि माल्यार्पण गर्ने कार्यक्रम रहेको निधिको सचिवालयले जनाएको छ।

सहिद दुर्गानन्द झाले २०१७ साल पुस १ गते राजा महेन्द्रविरुद्धको विद्रोहमा भाग लिएर आफ्नो जीवन उत्सर्ग गरेका थिए। उहाँको यो बलिदानले मधेस आन्दोलन र लोकतान्त्रिक मूल्यहरूको रक्षा गरेको थियो। आजको स्मरण कार्यक्रमले सहिदको योगदानलाई नयाँ पुस्तामा पुर्‍याउने र राष्ट्रिय एकता तथा मधेसको स्वाभिमानको सन्देश दिने प्रयास गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?