बर्दीबासमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते
6 दिन पहिले प्रकाशित
जनकपुरधाम,माघ १५ गते। पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी मोटरसाइकलको पछाडि बसेका बर्दीबास नगरपालिका–१४ का १९ वर्षीय शैलेश मगरको उपचारका क्रममा बुधबार राति मृत्यु भएको बर्दीबास प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बर्दीबासका अनुसार बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा जाँदै गरेको बा. प्र. ०२–०१९ प. ३१०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनापछि घाइते दुवै जनालाई शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएकोमा मगरको राति मृत्यु भएको हो। सोही ठाउँका १८ वर्षीय मोटरसाइकल चालक अविनाश खड्काको गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी नायब उपरीक्षक विकास बलमेका अनुसार दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। मृतक मगरको शव पोस्टमार्टमका लागि बर्दीबास अस्पताल लगिएको छ। तीव्र गति र सडक अवस्थालाई मुख्य कारण मानिएको प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूलाई सतर्क रहन आग्रह गरेको छ। यो घटनाले स्थानीय क्षेत्रमा सडक सुरक्षा विषयमा थप चासो बढाएको छ।
कमेन्ट गर्नुहोस्
view comments