कमला नदीमा अस्थायी डाइभर्सन सञ्चालन: सिराहा–धनुषा आवतजावत सहज, पुल निर्माण अन्तिम चरणमा
1 महीना पहिले प्रकाशित
जनकपुरधाम,माघ १५ गते। हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जिल्लाको सीमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी साधनको आवतजावत सहज भएको छ। वर्षौंदेखि भासिएको पुलको विकल्पमा ह्युमपाइप राखेर बनाइएको डाइभर्सनबाट साना तथा ठूला सबै प्रकारका सवारी सञ्चालन हुन थालेका छन्। सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले जानकारी दिँदै भन्नुभयो, “हप्तादिनअघिदेखि सार्वजनिक सवारी सञ्चालनमा आएका छन्। अब सबै सवारी साधन सहज रूपमा गुड्न थालेका छन्, जसले स्थानीय बासिन्दा र जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ।”
यसअघि स्थानीय युवाले बनाएको बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। बर्खामा बाढीले बाँसको पुल बगाउँदा डुङ्गाको सहारामा ज्यान जोखिममा पारेर नदी तर्नुपर्थ्यो। गत मङ्सिर ५ गते तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माण तत्काल अघि बढाउन निर्देशन दिएका थिए। उनले काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै अस्थायी आवतजावतको व्यवस्था मिलाउन पनि निर्देशन दिएका थिए। सोही निर्देशनपछि निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन तयार पारेको हो।
विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको पुल २०७८ असारको बाढीले दुई पिलर भासिएपछि चार स्ल्याबमा क्षति पुगेको थियो। पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले काम गरिरहेको छ। निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले बताएअनुसार, हाल दैनिक ४०–५० जना कामदार फिनिसिङ र मर्मतमा खटिएका छन्। आगामी असार मसान्तसम्म पुल सम्पन्न गरी सवारी सञ्चालन गर्ने लक्ष्य छ। स्थानीय युवा सन्तोष यादवले मन्त्री घिसिङको पहलपछि कामले गति लिएको बताउँदै तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। यो पुल सम्पन्न भएपछि हुलाकी राजमार्गको मेरुदण्ड बन्दै सिराहा र धनुषाका हजारौं नागरिकको कष्टकर यात्रा अन्त्य हुने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments