पूर्वराजा ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा पूजाआजा: समर्थकहरूबाट भव्य स्वागत

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १३ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा गर्नुभएको छ। आइतबार साँझ काठमाडौंबाट जनकपुर आइपुगेका उहाँले सोमबार साँझ जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो। मन्दिरका महन्थ राम तपेश्वर दासले पूर्वराजा शाहलाई स्वागत गर्दै माला लगाइदिनुभएको थियो। जानकी मन्दिर परिसरमा उहाँका समर्थकहरू पनि ठूलो संख्यामा उपस्थित थिए, जसले उहाँलाई माला, पुष्पगुच्छा र अभिवादनसहित स्वागत गरेका थिए।

पूर्वराजा शाहले पूजाआजा सम्पन्न गरेपछि मन्दिरबाट दक्षिण गेटबाट बहिर्गमन गर्नुभएको थियो। उहाँको यो भ्रमणलाई निर्वाचनको मुखमा राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। जनकपुरमा रहँदा उहाँले समर्थकहरू तथा विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय नेताहरूले बताएका छन्। यो भ्रमणले मधेश प्रदेशमा राप्रपा तथा राजावादी समर्थकहरूबीच उत्साह थपेको देखिन्छ। पूर्वराजा शाहको जनकपुर भ्रमणले तराईको धार्मिक तथा राजनीतिक माहोलमा नयाँ चर्चा सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?