राजविराजमा नेपाल टेलिकममा आगलागी: १३ लाख ४७ हजारको क्षति

4 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ १३ गते ।  सप्तरीको राजविराज नगरपालिका–७ स्थित नेपाल टेलिकमको कार्यालयमा सोमबार राति विद्युत् तार सर्ट भएर आगलागी भएको छ। आगलागीबाट टेलिकमसम्बन्धी विभिन्न सामग्री जलेर नष्ट हुँदा करिब १३ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको छ। नेपाली सेना बरख गण भालुवाहीका प्रमुख सेनानी सोवितबहादुर चन्दका अनुसार सिमकार्ड, कम्प्युटर, प्रिन्टर, टुलबक्स, टेलिकम तार, कुलर, हेलोजिङ हिटर, स्टेसनरी सामान लगायत अन्य उपकरणहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागी भएपछि बरख गण भालुवाही ब्यारेकका उपसेनानी कुलबहादुर महतको कमाण्डमा १ः१५ को नफ्री दमकलसहित नेपाली सेनाको टोली तत्काल घटनास्थल पुगेको थियो। सेनाको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको बरख गणले जनाएको छ। आगलागीको कारण विद्युत् तार सर्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने थप अनुसन्धान भइरहेको छ। यो घटनाले स्थानीय स्तरमा नेपाल टेलिकमको सेवा प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?