गगन थापा मधेशमा: 'म मधेस बुझ्न र सेवा गर्न आएको हुँ'
4 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ १३ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले कांग्रेस र प्रजातन्त्रलाई पुर्याएको योगदान र गुण आफू राम्रोसँग जानकार रहेको बताउनुभएको छ। दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पहिलो पटक सोमबार मधेश प्रदेश झर्नुभएका थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को धनकौल गाउँपालिकास्थित क्षेत्रीय पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो, “मधेशले प्रजातन्त्रलाई लगाएको गुण भुल्न नसकिने छ। अब म यहाँको प्रतिनिधि भएर यहाँको रहनसहन, भाषा, संस्कार र संस्कृतिसँग घुलमिल हुन्छु।” उहाँले आफूलाई मधेशमा समाहित गर्न र मधेशलाई आफूभित्र ल्याउने प्रयासस्वरूप सर्लाही आएको बताउनुभयो।
थापाले सिमरा विमानस्थलमा आउँदा ठाउँठाउँमा भएको स्वागतले उत्साहित बनाएको उल्लेख गर्दै भन्नुभयो, “म मधेस पढ्न र बुझ्न आएको हुँ। यहाँको भाषा, वेशभूषा, संस्कृति सबै सिक्छु। दुई दिनको चटक देखाउन आएको होइन, स्थायी रूपमा यहाँको समस्या बुझेर सेवा गर्न आएको छु।” उहाँले सर्लाही–४ र काठमाडौंमा स्थायी कार्यालय खोलेर नागरिकका समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। सोमबार मुक्तेश्वर बाबाधाम मन्दिर दर्शनपछि क्षेत्र नं. ४ मा प्रवेश गर्नुभएका थापालाई बारा, रौतहट र सर्लाहीका विभिन्न स्थानमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। उहाँले कुनै दल वा नेताविरुद्ध आरोप–प्रत्यारोप नगरी नागरिकको सेवक बन्न आएको बताउँदै मधेशका सवाल नजिकबाट बुझ्ने र संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यो भ्रमणले सर्लाही–४ मा कांग्रेसको चुनावी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments