पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरधाममा: जानकी मन्दिर दर्शन र भेटघाटको कार्यक्रम

5 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ १२ गते । पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार जनकपुरधाम पुगेका छन्। आइतबार साँझ काठमाडौंबाट आएका उनको यात्री निवासमा बासको व्यवस्था गरिएको छ। निर्वाचनको मुखमा भएको यो भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधाममा गरेको चुनावी सभामा काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन), रवि लामिछाने लगायतका नेताहरू सहभागी थिए। सोही क्रममा पूर्व राजाका छोरा पारस शाह पनि उक्त होटेलमा बसेका थिए र विश्वसनीय स्रोतका अनुसार उनीहरूबीच महत्वपूर्ण भेटघाट भएको थियो। माघ २ गते पूर्व राजाको जनकपुरधाम आउने कार्यक्रम स्थगित भएको थियो, जसपछि उनी आइतबार आएका हुन्। अहिले पारस भने जनकपुरधाममा छैनन्।

सोमबार दिउँसो पूर्व राजा शाहले जानकी मन्दिरमा पूजाअर्चना गर्ने, राम मन्दिर दर्शन गर्ने तथा विशिष्ट समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाश राणाले जानकारी दिएका छन्। उनी जानकी मन्दिरको पूर्व गेटबाट प्रवेश गरी पूजाअर्चना गर्नेछन् र दक्षिण गेटबाट बहिर्गमन गर्नेछन्। सो क्रममा उनका समर्थक तथा शुभचिन्तकहरूले माला र पुष्पगुच्छाले स्वागत गर्ने तयारी छ। राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवले पूर्व राजाको स्वागत तथा व्यवस्थापन पार्टीगत रूपमा आफूहरूले गर्ने बताएका छन्। यो भ्रमणले तराईको राजनीतिक माहोलमा थप चर्चा र बहस सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?