नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्दै
1 महीना पहिले प्रकाशित
काठमाडौँ, माघ ६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्। कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका हुन्। यद्यपि पार्टीले हालसम्म औपचारिक रूपमा उम्मेदवारी तथा टिकट वितरणको निर्णय सार्वजनिक गरिसकेको छैन।
यसअघि काठमाडौँबाट निरन्तर निर्वाचन जित्दै आएका थापाको यो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। सर्लाही–४ क्षेत्रमा उनको उम्मेदवारीले मधेश प्रदेशमा कांग्रेसको प्रभाव बढाउने रणनीति रहेको विश्लेषकहरूको भनाइ छ।
कांग्रेसले आसन्न निर्वाचनका लागि देशभरका क्षेत्रहरूमा आन्तरिक गृहकार्य तीव्र पारेको छ। पार्टीले उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेको बताउँदै आज दिनभरिमा टुङ्गो लाग्ने सभापति थापाले यसअघि नै संकेत गरिसकेका छन्।
थापाको सर्लाही–४ बाट उम्मेदवारीले मधेश प्रदेशमा कांग्रेसको राजनीतिक सक्रियता बढाउने अपेक्षा गरिएको छ। उक्त क्षेत्रमा यसअघि विभिन्न दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने गरेको छ। थापाको प्रवेशसँगै यो क्षेत्रको चुनावी माहोल थप रोचक बन्ने देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments