गौर–गङ्गापिपरा सडकखण्डमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते
2 महीना पहिले प्रकाशित
जनकपुरधाम, माघ ४ गते । रौतहटको गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत दुर्गा भगवती गाउँपालिका–४ कछुवापुलमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
शनिबार साँझ करिब ६ बजे बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा भारतको सिउहर जिल्ला पिपडारी मोहनपुर–६ निवासी अन्दाजी २८ वर्षीय मिन्टु पासवानको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो।
दुर्घटनामा सोही स्थानका २६ वर्षीय रमेश पासवान गम्भीर घाइते भएका छन्। दुवै जनालाई प्रारम्भिक उपचारका लागि बागमती सेन्ट्रल हस्पिटल गङ्गापिपरामा लगिएको र त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो।
घाइते रमेश पासवानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा रिफर गरिएको प्रहरी नायब उपरीक्षक बस्यालले बताउनुभयो।
दुर्घटना कसरी भयो भन्ने विषयमा यकिन हुन नसकेको प्रहरीले जनाएको छ। मोटरसाइकलको दाहिने साइडको लेगार्ड कुचिएको अवस्थामा फेला परेको र लेगार्डमा ब्ल्याक ओके रक्सी झोलामा झुण्ड्याइएको भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments