कञ्चनपुरमा यात्रुवाहक बसभित्र यात्रुको मृत्यु

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २ गते । सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुवाहक बसमा सवार एक यात्रुको बाटोमै मृत्यु भएको छ। भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको बसमा सवार तिरहुत गाउँपालिका–४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको बिहीबार यात्राकै क्रममा मृत्यु भएको हो। उनी विगत ३–४ दिनदेखि बिरामी रहेको र श्रीमती ४५ वर्षीया दुखनी मुखियासहित घर फर्किंदै गर्दा बसमै निधन भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

शुक्रबार बिहान बस चालकले प्रहरीलाई जानकारी गराएपछि गरिएको प्रारम्भिक अनुसन्धानमा घटनामा कुनै शङ्कास्पद अवस्था नदेखिएको प्रहरीले जनाएको छ। मृतकको शव उनका भाइ उमेश मुखियाको जिम्मा लगाइएको छ भने घटनाबारे थप कानुनी प्रक्रिया पूरा गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?