धनुषाधाममा जंगली हात्तीको आतंक, तीन घरमा क्षति

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २ गते । धनुषाधाम नगरपालिकाको वडा नम्बर ६ हरिपुरस्थित बस्तीमा जंगली हात्ती पसेपछि स्थानीयवासी त्रसित बनेका छन्। गएराति करिब ११ बजेतिर बस्तीमा प्रवेश गरेका हात्तीले स्थानीय सुकुमाया मिजार, प्रेम लामा र खले मिजारको घरमा तोडफोड गर्दै ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। अचानक हात्ती बस्तीभित्र छिरेर घर भत्काउन थालेपछि बासिन्दा बालबालिका र वृद्धसहित ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएको स्थानीयले बताएका छन्। हात्तीले घरका भित्ताहरू, ढोका–झ्याल मात्र होइन, भण्डारण गरिएको अन्नपातमा समेत क्षति पुर्‍याएको पीडितको भनाइ छ।

मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार दुई वटा बच्चासहित चार वटा हात्ती बस्तीमा पसेका थिए। यो क्षेत्र हात्तीको परम्परागत आवागमन मार्ग भएकाले बस्ती बसोबास बढेसँगै जोखिम बढेको उनले बताए। स्थानीयलाई सचेत रहन आग्रह गर्दै आगो बाल्ने, आवाज निकाल्ने जस्ता उपाय अपनाउन सुझाव दिएका छन्। प्रहरी र वन कर्मचारीको संयुक्त टोली हात्तीलाई पुनः जंगलतर्फ फर्काउने प्रयासमा जुटेको छ भने थप क्षति हुन नदिन बस्ती आसपास निगरानीसमेत बढाइएको जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?