ज्योति विकास बैंकका कर्मचारीमाथि अमानवीय व्यवहार गर्ने सप्तकोशी नगरपालिकाकी उपप्रमुखसहित चार जना फरार

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ १ गते ।  ज्योति विकास बैंकका दुई कर्मचारीमाथि अमानवीय व्यवहार र कुटपिट गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीसहित चार जना अझै फरार रहेका छन्।

घटना गत मंसिर २४ गतेको हो। ऋणीसँग संवाद गर्न बैंकका प्रादेशिक कार्यालयका उपप्रबन्धक (कर्जा असुली प्रमुख) सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठ सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिमा पुगेका थिए। उक्त फार्मका सेयरधनी सञ्जीवकुमार चौधरीकी श्रीमतीसमेत रहेकी उपप्रमुख चौधरीसहितका व्यक्तिहरूले बैंक कर्मचारीलाई मोसो दलेर जुत्ताको माला लगाई कुटपिट गरेको आरोप छ।

अमानवीय व्यवहार र कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बैंकको जाहेरीका आधारमा प्रहरीले मंसिर २५ गते उपप्रमुख चौधरीका श्रीमान् ५२ वर्षीय सञ्जीवकुमार चौधरी र अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का ४७ वर्षीय उमाकान्त चौधरीलाई पक्राउ गरेको थियो।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुवै जनालाई गत शुक्रबार सप्तरी जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले उनीहरूलाई २५/२५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ।

प्रहरीका अनुसार उपप्रमुख रिताकुमारी चौधरी, उनका छोरा सिरजकुमार चौधरी तथा सेयरधनीहरू प्रभुनारायण चौधरी र पञ्चदेव चौधरी हाल फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?