आज माघे सङ्क्रान्ति, घिउ–चाकु र तरुल खाएर हर्षोल्लासपूर्वक मनाइँदै

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १ गते । आज माघ महिनाको पहिलो दिन माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) देशभर विभिन्न जातजातिले आ–आफ्नै परम्पराअनुसार मनाइँदै छन्। आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन्। घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाई परिवारसँग रमाइलो गर्ने चलन छ, जसले जाडोमा शरीरलाई न्यानो राख्ने र त्रिदोष नाश गर्ने आयुर्वेदिक मान्यता रहेको छ।

धार्मिक विश्वासअनुसार आज जलाशयमा स्नान, तिल दान, जप–तप र ध्यान गर्नु अत्यन्त पुण्यदायी मानिन्छ। तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ पर्वका रूपमा मनाइन्छ, जहाँ आज अनिवार्य रूपमा स्नान गर्ने प्रचलन छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामा र रात छोटा हुँदै जान्छन्। यस अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, रिडी, त्रिवेणी, वाग्मतीलगायत तीर्थस्थलमा माघ स्नानका लागि भक्तजनको घुइँचो लागेको छ र विभिन्न स्थानमा विशेष मेला पनि आयोजना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?