डाक्नेश्वरी नगरपालिकामा भ्रष्टाचारको आरोप लगाउँदै स्वास्थ्यकर्मी आन्दोलनमा
20 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुष ३० गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलमाथि जनप्रतिनिधिसँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाउँदै नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। मंगलबार १२ वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले प्रमुख प्रशासकीय अधिकृत मण्डललाई ज्ञापनपत्र बुझाउँदै गैरकानुनी गतिविधि तत्काल रोक्न दुई दिनको अल्टिमेटम दिएका छन्। स्वास्थ्यकर्मीहरूको आरोप छ कि भ्रष्टाचारमा साथ नदिँदा ६ महिनासम्म औषधि आपूर्ति रोकिएको, औषधि माग फारम भर्दा पहिले नै बुझिलिएको भर्पाइ गराउन दबाब दिइएको र अस्वीकार गर्दा मानसिक तनाव दिने तथा मनपरी रूपमा सामूहिक सरुवा गरिएको छ।
स्वास्थ्यकर्मीहरूले कर्मचारीको स्तरवृद्धिमा लेनदेन, पहुँचका आधारमा मूल्यांकन र अव्यवस्थित सरुवा प्रक्रिया रोक्न माग गरेका छन्। माग पूरा नभए कामकाज ठप्प पार्ने र आगामी निर्वाचनमा समेत नखट्ने चेतावनी दिएका छन्। यता प्रमुख प्रशासकीय अधिकृत मण्डलले आफूमाथि लागेको आरोप निराधार भएको दाबी गर्दै सरुवा नियमअनुसार भएको र औषधि खरिद प्रक्रियामा ढिलाइ भएकाले समस्या आएको बताएका छन्। नगर प्रमुख रामलखन मलाहले पनि जनगुनासोका आधारमा सामान्य फेरबदल मात्र गरिएको र स्वास्थ्यकर्मीले झूटा आरोप लगाएर अनावश्यक विवाद सिर्जना गरिरहेको प्रतिक्रिया दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments