जनकपुरधाममा गृहमन्त्री अर्यालः नागरिक सरकारको मुख्य जिम्मेवारी सुशासन र समयमै निर्वाचन
20 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुष ३० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा देशमा अभिभावकीय भूमिका कमजोर बनेका बेला गैरदलीय नागरिक सरकार गठन भएको स्पष्ट गर्दै यसको प्रमुख कार्यभार सुशासन कायम गर्नु र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ। मधेश प्रदेश सरकार तथा गृह, सञ्चार र कानुन मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै उहाँले नागरिक र युवापुस्ताको जनभावनाअनुसार सहकार्य र समन्वयमा अघि बढ्दै सरकार निष्ठा र इमानदारिताबाट पछि नहट्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा विशेष अतिथिका रूपमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गोष्ठीले प्रदेशको समग्र सुरक्षा अवस्था, आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति र निर्वाचन सफल पार्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले हाल तराईका केही क्षेत्रमा देखिएको धार्मिक साम्प्रदायिकता, जेन–जी आन्दोलनपछिका भौतिक क्षति, लुटिएका हतियार र फरार कैदीबन्दी जस्ता चुनौतीलाई सम्बोधन गर्दै साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, प्रदेश प्रहरी समायोजन र सङ्घीय प्रहरी ऐनको आवश्यकता औँल्याउँदै प्रदेश प्रहरीको अभावसम्बन्धी नकारात्मक भाष्यप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।
उता, मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री फकिर महतोले प्रदेश प्रहरी ऐन र समायोजन नहुँदा सुरक्षा चुनौती बढ्दै गएको बताउनुभयो। खुला सीमाका कारण स्वच्छ नियमनमा समस्या देखिएको उल्लेख गर्दै जिल्ला, प्रदेश र सशस्त्र प्रहरीबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ। गोष्ठीले विद्यमान सुरक्षा समस्याको पहिचान र समाधानमा सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
कमेन्ट गर्नुहोस्
view comments