घुर ताप्ने क्रममा महिला गम्भीर घाइते : जाडोको जोखिम फेरि उजागर

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष २८ गते । सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सरमा आइतबार साँझ घुर ताप्ने क्रममा ६० वर्षीया भुलन देवी ठाकुर गम्भीर घाइते हुनुभएको छ। आफ्नै घरभित्र आगो ताप्ने क्रममा लगाएको साडीमा अचानक आगो सल्किएपछि उहाँको शरीरको ठूलो भाग जलेको हो। यो घटनाले मधेश प्रदेशमा बढ्दो जाडोमा घुर तथा आगो ताप्दा हुने जोखिमलाई फेरि उजागर गरेको छ।

घाइते ठाकुरको दुबै हात, दुबै खुट्टा, पेट र ढाड गरी करिब ४० प्रतिशत शरीर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। घटनापछि तत्काल उद्धार गरी उहाँलाई थप उपचारका लागि विराटनगरको टिचिङ अस्पताल लगिएको छ। चिकित्सकहरूका अनुसार यस्ता जलनका घाउहरू गम्भीर हुने र संक्रमणको जोखिम बढी हुन्छ।

जाडो याममा मधेशका ग्रामीण क्षेत्रमा घुर तथा आगो ताप्ने प्रचलनका कारण यस्ता दुर्घटना बारम्बार भइरहेका छन्। विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी जोखिममा पर्छन्। यसलाई न्यूनीकरण गर्न सुरक्षित ताप्ने उपकरणको प्रयोग, जनचेतना अभियान र वैकल्पिक व्यवस्था आवश्यक छ। सरकार तथा स्थानीय तहले यस्ता घटनाबाट पाठ सिकेर विपन्न परिवारलाई न्यानो कपडा तथा सुरक्षित हीटर वितरणजस्ता कार्यक्रम तीव्र बनाउनु पर्छ। घाइते ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?