तराई मधेशमा सरस्वती पूजाको तयारी : अत्यधिक चिसोले मूर्तिकारलाई कठिनाइ, माटो सुक्न हप्ता दिन लाग्दै
4 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष २७ गते । धनुषासहित तराई मधेशका जिल्लामा सरस्वती पूजाको समय नजिकिँदै जाँदा मूर्तिकारहरू बिहानैदेखि माटो मुछ्ने, ढाल्ने र आकार दिने काममा व्यस्त छन्। पुस्तौँदेखि चल्दै आएको यो परम्परागत पेसाबाट उनीहरूको जीविका चलिरहेको छ, तर यसपालि अत्यधिक चिसो र शीतलहरले मूर्ति सुकाउन निकै कठिन भएको छ। सामान्य अवस्थामा दुई–चार दिनमा सुक्ने मूर्ति अहिले हप्तादिनसम्म पनि नसुक्दा काम ढिलो भइरहेको र समयसँग दौडिनुपर्ने बाध्यता बढेको मूर्तिकारहरू बताउँछन्।
धनुषाका मूर्तिकार पन्चा पण्डित, उत्तमलाल पण्डित, मोतीलाल पण्डित र शिवजी पण्डितजस्ता कलाकारहरूले चिसोले हात–खुट्टा सुन्निने, औँलाले काम गर्न नसक्ने, शरीर काँप्ने र स्वास्थ्य बिग्रिने डर बढेको गुनासो गरेका छन्। घाम नलाग्दा माटो चिसो रहने, मूर्ति सुक्न ढिलो हुने र रङ बस्न नसक्ने समस्या छ। यसका लागि मेसिनको सहारा लिनुपर्दा खर्च दोब्बर हुने गरेको उनीहरूको भनाइ छ। पहिले चार–पाँच दिनमा तयार हुने मूर्ति अहिले सात–दस दिन लाग्ने गरेको छ। सरस्वती पूजा नजिकिँदै जाँदा विद्यालय–टोलमा माग बढिरहे पनि आकाशतिर हेर्दै घाम पर्खिरहेका मूर्तिकारहरूको दैनिकी सङ्घर्षपूर्ण बनेको छ।
कमेन्ट गर्नुहोस्
view comments